मिति :– २०८२/०९/०९ गते

महोत्तरीको बर्दिबासस्थित बर्दिबास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँग सम्बन्धित विषयमा सार्वजनिक सरोकारका आधारमा सञ्चारमाध्यममा प्रकाशित÷प्रशारित समाचारलाई लिएर सामाजिक सञ्जालमा गरिँदै आएको तथ्यहिन, भ्रामक तथा अमर्यादित टिप्पणीहरुप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारजन्य सामाग्री प्रकाशन प्रसारण गरेकै निहुँमा समग्र पत्रकारिता क्षेत्रको मानमर्दन हुने गरी पत्रकारहरुलाई लक्षित गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिसमेतले सार्वजनिक कार्यक्रममै र केही व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत पत्रकार तथा सञ्चारकर्मीहरुमाथि नियोजित रुपमा आक्षेप, गालीगलौज तथा चरित्रहत्या गर्ने प्रयास गर्नु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।
कुनै समाचारप्रति असहमति भए त्यसलाई तथ्य, प्रमाण र कानुनी प्रक्रियामार्फत खण्डन गर्न सकिने वैधानिक मार्ग हुँदाहुँदै सामाजिक सञ्जालमा पत्रकारहरुलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिनु लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ । महासंघ महोत्तरी शाखा यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरु तत्काल नगर्न नगराउन सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र गरिमामाथि आँच आउने कुनै पनि कार्य सह्य नहुने स्पष्ट गर्दछ । सत्यतथ्य समाचार सम्प्रेषण गर्ने क्रममा पत्रकारहरुले निर्वाह गरिरहेको भूमिकाप्रति प्रतिबद्ध रहँदै महासंघ महोत्तरी शाखा प्रेस स्वतन्त्रताको संरक्षणका लागि सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।

राम नारायण महतो
सचिव