नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको स्थापना वि.सं.२०४९ मा भएको हो । संस्थापक अध्यक्ष विश्वनाथ लाल कण, सचिव दशरथ भण्डारी तथा तत्कालीन समयमा क्रियाशिल संचारकर्मीहरूको सक्रियतामा महोत्तरी जिल्ला शाखाको स्थापना भएको हो । जिल्ला शाखा स्थापना हुँदा नेपाल पत्रकार संघ रहेकोमा २०५३ साल जेठ २९ गते महासंघमा रुपान्तरण भएको हो । गोर्खापत्र(वि.सं.१९५८) को प्रकाशन हुनुभन्दा अगाबै यस जिल्लामा कार्यरत पत्रकारहरू भारतबाट प्रकाशित विभिन्न पत्रिकाहरूमा समाचार तथा लेख तपाउने काम गरेको मौखिक इतिहास पाइन्छ । जलेश्वर डेटलाइनबाट वि.सं.१९६८ फाल्गुण २ गते गोर्खापत्र साप्ताहिकमा जानकी मन्दिर सम्बन्धी समाचार प्रकाशन भएकोले सो भन्दा अगाडि पनि महोत्तरी जिल्लामा पत्रकारहरू सक्रिय रहेको अनुमान गर्न सकिन्छ । वि.सं.२०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन हुनुभन्दा अगाडिदेखि नै महोत्तरी जिल्लामा जलेश्वरका स्वर्गीय रामस्वरुपप्रसाद नेपाली ‘बीए’ ले वि.सं.२०१० सालबाट पत्रकारिता शुरू गरेका थिए । त्यस्तै वि.सं.२०१७ सालबाट मटिहानीका बिन्देश्वरी प्रसाद मण्डलले पत्रकारिता शुरू गरेका हुन् । वि.सं. २०१८ सालमा महोत्तरी जिल्लाबाट धनुषा जिल्ला छुट्टाइएपछि गणेशप्रसाद चौधरी, अरुणकुमार सिंह, नरेन्द्र श्रेष्ठ, मुनेश्वर रायसहितका पत्रकारहरूले आफ्नै पत्रिका प्रकाशन गरेर महोत्तरीको पत्रकारितालाई अगाडि बढाएका थिए । प्रजातन्त्र पुनस्र्थापना भएपछि वि.सं. २०४८ सालमा पूराना पत्रिकाहरू समेत नयाँ दर्ता गराउनुपर्ने बाध्यताले जिल्ला प्रशासन कार्यालयमा वि.सं.२०४८ साउन २६ गतेदेखि २०४९ माघ २८ गतेसम्ममा रामस्वरुपप्रसाद नेपालीको मुक्त नेपाल साप्ताहिक, विश्वनाथ लाल कर्णको आशु साप्ताहिक, सत्यनारायण यादवको जनकपुर अंचल सन्देश साप्ताहिक, मदन लाल श्रेष्ठको आवाज साप्ताहिक, दशरथ भण्डारीको भूमि साप्ताहिक, कुमरकान्त झाको युगपुकार साप्ताहिक तथा रामकुमार मण्डलको तथ्य साप्ताहिक दर्ता भएको थियो ।
पत्रकार महासंघ महोत्तरी शाखामा अहिले ६१ जना सदस्यहरु छन् । पत्रकारहरुको व्यवसायीक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि महासंघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने गरेको छ ।